जेनजी नामको विध्वंस र मेरो भ्रम

  • by Suraj Adhikari
  • Sep 17, 2025
बिद्यालयमा अन्य बिषय संगै इतिहास, नैतिक शिक्षा र संस्कृत बिषयहरू थिए हाम्रो पालासम्म, अहिले छैनन् क्यार। ‘इतिहास’ शब्द आफैमा घटना परिघटनाको सत्यतथ्य समेटेर भविष्यका पुस्ताको जानकारीको लागि उतारेको लेखाइ भन्ने बुझाई थियो। तर यो तथ्य संकलन र लेखाइ मार्फत उतार्ने व्यक्ति इतिहासकार वा लेखक जे भनौ, के कति सत्य तथ्यको नजिक पुग्या छ, उसले घटना परिघटनाका अनेकन प्रमाण, कारण रहस्यमय पक्षको गहिराइ खोतलेको छ छैन, त्यसमा कहिले कहिले कथा र निबन्ध समेत मिसाएको हुन सक्ने बिर्सेर इतिहास बुझेको भ्रममा पो परेको रहेछु।

धेरै लामो नगई पछिल्ला ३/४ पुस्तादेखि आजको दिनसम्मका मुख्य मुख्य घटना परिघटनालाइ यसो थोरै मात्र नियाल्यो भनेपनि यो मुलुकको परिचय जहिले पनि विभाजित, खण्डित र आपसमा मिल्न नसक्ने बेमेलको प्रवृतिको रहेको तथ्य, आफ्नै आँखा अगाडी घटाइएका र भोगेका पछिल्ला दिन सम्मका बिधवंसका शृंखलाबाट बुझ्न कोहि लेखक, विश्लेषक वा बिज्ञ खोजिरहन नपर्ने, सजिलै बुझ्न सकिने हुँदा समेत यहाँबाट आशा गर्ने मेरो कत्रो भ्रम ?

हाम्रो बिभेद प्रत्येक व्यक्ति-व्यक्ति, घर-घर, दाजुभाई-दिदिबहिनिबाट सुरुभै, तेह्रदिने दाजुभाइ, माइती-ससुराली, मामा-फुपू , नजिकका आफन्त, टोल-छिमेक, ओल्लोघरे-पल्लोघरे, तल्लोगाउँले-माथ्लोगाउँले, अनि यो जात-त्यो जात, यो धर्म – त्यो धर्म, यो भूगोल – त्यो भूगोल, यो संस्कृति – त्यो संस्कृति, यो पर्व – त्यो पर्व, यो पार्टी – त्यो पार्टी, यो विचार त्यो विचार लगायत बाउ, बाजे, बराजु, खराजुले समेत जोड्न नसकेका टुक्रिएका असहिष्णु मनका झुर्काहरु जोडिएलान भन्ने कत्रो दुस्साहसी भ्रम मेरो !

साना ठुला अनेक साइजका द्वन्द, आपसी संघर्ष हिजो देखिनै प्रत्येक क्षण चलिरहेका थिए, त्यो महसुश गर्न पनि बिज्ञ भै रहन पर्दैनथ्यो । यी द्वन्दहरुले कहिले पनि सामुहिक हित, समृद्धि र उन्नत देशको लागि आफ्नो भूमिका निर्बाह गरेर परिणाम निकाल्न मद्दत गरेको खास प्रमाण पनि खोई कतै थिएन ।

परिबर्तनको बाहक हामी हौ भनेका पार्टी र शक्तिहरुले जनताको नाममा जति द्वन्द र आन्दोलन गरे, तिनका बाद, सिद्धान्त, जे जे भने पनि अन्तत नयापन थिएन। आफै भित्र मारामार कुनै अनुशासन मान्न नपर्ने, हार लाइ नस्वीकार्ने, बरु पार्टी फोड्ने वा अर्कोतिर कुदी हाल्ने, एकदिन होइन, एकबर्ष होइन, एकदशक मात्र पनि होइन दशकौ सम्म के। अति बाट चार परम्पराकै रुपमा स्थापितै भाको कुरो पनि त कसैलाई सोध्न जान पर्या थिएन ।

बिधि नियम आफु अनुकुल, पद प्रतिष्ठा सुख सुबिधा सहुलियत सबै आफ्नै लागि, आफुले गरेको सबै ठिक, अरुले गरेको सबै बेठिक यो बाख्या पनि त भलिभाती थियो नै। के गर्ने बिधि त्यहि हो , बहुमते प्रणाली, संसारको सबभन्दा उत्तम ब्याबस्था भनिकन, जनताले जो चुन्यो त्यहि शासक हो नि हौ – हैट मेरो विश्वास !

गाउटोल देखि केन्द्र सम्मन कुकृत्य, किर्तेकर्म, जालसाजी, र गम्भीर सामाजिक अपराध गर्नेहरुको हाइहाइ ।तिनका यस्ता कर्म छोप्न, लुकाउन पार्टीको ओत लाग्ने, ओत लाग्न नपाए अर्को पार्टी खोल्ने, मीडिया धर्मको तिलांजलि दिई पत्रकार नामधारी जमात तिनको प्रचारमा लाग्ने । बिचौलिया, चोर, ठग र अपराधीहरुको सासन सत्तामा हालीमुहाली, रजगज दिनहु देखिरा हो । यसमा नया भन्नेहरू झनै जन्मदै तिनपात पलाएको तथ्य इतिहास होइन वर्तमान थियो।

सेना, प्रहरी, कर्मचारी र पार्टीका संरचनामा रहेकाहरुको मुख्य ध्यान नियुक्ति, पदोन्नति, सुख सयल, भोग, मोजमस्ती – भन्ने सिकाई पनि पुरानै भैसक्या थियो । अरूबेला मनख़ुशी गर्न कुनै आदेश नचाहिने, चाहिने बेला पुच्छर लुकाई भाग्नेहरुबाट जनताको, सार्बजनिक सम्पतिको सुरक्षा र सेवा हुन्छ, म भन्दै रहेछु ।

७ वर्ष पत्रकारिता अध्ययनमा बिते, शुरुवाती यो पेशा गर्दा ति संस्थाका मालिक र संचार कर्ममा लागेका चौथो अंगका मिडियाकर्मी, स्वतन्त्र भनिने बुद्धिजिबी र बिषयगत बिज्ञ भनिएकाहरुको भूमिका पनि देखेकै थिए । तिनको दलाली र बार्गेन देखेर दिक्क लागेर आफुले त्यो पेशा चटकै छोडीदिएको थिए। कुरा काट्ने, कुरा लाउने समाजमा घृणा फैलाउने, बिबिधता बीच एकता होइन बरु फाटो ल्याउने, भाजो हाल्ने, भड्काउने तिनको कर्म पनि ०४६ देखिकै हो। बिदेशी दान र भिखले चल्ने नागरिक समाज र कथित अगुवाहरु पनि त बुझेकै हो।

सकारात्मक, आशा जगाउने, बिकाश निर्माण र इनोभेशन, नागरिक दायित्व जस्ता बिषयमा आम नागरिक सचेत बनाउन, समाजभित्र सौहार्दता ल्याउन भन्दा इशारामा समाजमा बितन्डाको बिउ रोप्न, मलजल गर्नतिर धेर रहेको तिनका कन्टेन्टले प्रस्ट पारेकै थिए l

म आफु पनि गोर्खे न हु, मेरो टोल गाउ, समाज र देशभित्र कुनै काम गर्नुपर्छ भन्ने लाग्दैन – त्यो किन गर्ने अल्छि लाग्छ मलाइ। यो मेरो स्वतंत्रताको कुरो हो। मेरो मानब अधिकार हो। रिस उठे पछि अगाड़ि जे भेटिन्छ त्यो ध्वस्त पार्ने हो । कसैले सुइ पार्यो भने दाया बाया हेर्ने होइन आगो झोस्ने हो, जे सुकै बलोस, बाल भएन नि।

घर परिवार बाउले हेर्छन, नभए अंश दिन्छन त्यो पुर्खा देखि चलि आएको हो ।नभए ससुराली तिरबाट दाइजोको विकल्प डल्लै छ l श्रीमतीलाइ यसो आफ्नो थान्कामा राख्न बेला बेलामा मर्मत गर्न परिगो। यो बाउ बाजे देखि चलि आएको थिति नै हो नि म के गरौ ।

गाउमा रहदा हल्का खुखुराको खोरतिरको सामान्य ड्युटी, शहर छिरेसी ठगि दलाली मज्जाको लाग्यो। केहीपछि लाग्यो कि , नेपालमा पनि कोहि बसिरहन्छ ? लागियो सपनाको संसारतिर- ओहो मेशिन संगै काम, अझ कहिलेकाही त्यो भन्दा नि बढी । मेशिन संग गोर्खेले हार्ने कुरा भएन l गाउँमा पिएको खोया बिर्केको माल र रातो भालेको सुप त सबै तर्रर l छिट्टै ज्यान सिद्रा भो, नाई नाई स्लिम भो। तर केहि छैन सुन्दर बंगला जोडेको छु, लोन जाबो ३०/३५ बर्षमा तिरी हालिन्छ, दोश्रो हाते भए पनि ब्रान्डेड महँगो गाडी हाकेकै छु ।

कहिले कहिले जन्मस्थान र बाआमाको झल्को झल्यास्स गर्छ, अनि,

जाबो त्यो झल्कोको कारण सधै लडिरहने, मरिरहने, मारिहहने, चानचुन सयबर्ष पछि परेको ठाउ फर्कनुपर्छ भन्ने भ्रम पो पाल्दै रहेछु l

यद्यपि अहिले कलियुग हो रे, यसको एउटा बडा राम्रो पक्ष कर्मको फल तुरुन्त मिल्छ रे, ६ महिना १ बर्षमानै, बढीमा १०/१२ बर्ष । त्यसैले म जस्ता धुन्दुकारीलाइ कर्म अनुसारको फल छिटो मिलोस, यो भ्रमनै पालेको हो तर यो भ्रम नामेट होस् l

 

Related Post