रचना, विनाश, मानव विवेक अनि मेरो भ्रम

  • by Suraj Adhikari
  • Aug 27, 2026
गत भदौदेखि नै मन विचलित छ। मानवता, नीति–नियम, कानुन, सुरक्षा, राज्य, राजनीति र समाजप्रतिको विश्वासमाथि नै गहिरो प्रश्न उठेको छ। लाग्छ—यी सबैप्रतिको मेरो विश्वास र भ्रमबीचको पर्दा त्यही घटनाक्रमले च्यातिदिएको हो।

प्रकृतिका दुई मूल पक्ष—रचना र विनाश। मानव सभ्यताले सदियौँदेखि यी दुवैलाई देख्दै, भोग्दै र स्वीकार्दै आएको छ। यो प्रकृतिको अपरिहार्य नियम हो। ब्रह्माण्डमा अस्तित्वमा रहेका सजीव–निर्जीव सबै वस्तु कुनै न कुनै रूपमा यही चक्रसँग जोडिएका छन्। जन्म–मृत्यु, दिन–रात, सुख–दुःख, उकालो–ओरालो, राम्रो–नराम्रो, घाम–पानी—यी सबै प्रकृतिका स्वाभाविक चक्र र द्वन्द्व हुन्। दिनपछि रात र जन्मपछि मृत्यु अटल सत्य हुन्। प्रकृतिको यही शाश्वत नियमलाई स्वीकार गर्नुबाहेक मानवसँग अर्को विकल्प छैन।

यो सुन्दर पृथ्वी, चराचर जगत्, असंख्य जीवजन्तु र प्रकृतिको उत्कृष्ट सिर्जना मानिएको मानव स्वयं प्रकृतिका अद्भुत रचना हुन्। तर यही प्रकृतिले कहिलेकाहीँ आफ्नो विनाशकारी रूप पनि देखाउँछ। पछिल्लो भोटेकोशी बाढी–पहिरो लगायत विश्वका विभिन्न भूभागमा समय–समयमा हुने प्राकृतिक विपत्तिले मानव जीवन, भौतिक संरचना र प्राकृतिक सम्पदामाथि समेत गम्भीर क्षति पुर्याउँदै आएका छन्।

प्राकृतिक रूपमा घटित यस्ता घटना जति नै भयावह र विनाशकारी भए पनि ती प्रकृतिको आफ्नै स्वाभाविक प्रक्रिया हुन्। प्रकृति आफ्नै नियम, गति र सन्तुलनअनुसार निरन्तर सिर्जना र विनाशको चक्रमा अघि बढिरहन्छ।

तर प्रकृतिको उत्कृष्ट सिर्जना मानिएको मानव विवेकशील प्राणी हो। उसमा सही र गलत छुट्याउने चेतना छ; के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने विवेक छ; अनि आफ्ना कर्मप्रति जिम्मेवार बन्ने क्षमता पनि छ। त्यसैले मानिसबाट हुने विनाश प्रकृतिको स्वाभाविक विनाशभन्दा मौलिक रूपमा फरक हुन्छ। त्यो मानव निर्मित र अप्राकृतिक विनाश हो।

आधुनिक सभ्यताको विकाससँगै मानव प्रकृतिलाई नियन्त्रण गर्न सक्ने अवस्थामा पुगेको छ। तर विडम्बना के छ भने, विवेक र चेतनाको उच्चतम दाबी गर्ने यही मानव स्वयं कहिलेकाहीँ प्रकृतिभन्दा पनि बढी विनाशकारी र खतरनाक बन्न पुगेको देखिन्छ।

गत भदौमा मानवकै नाममा देशमा सिर्जना गरिएको वितण्डाले यही कठोर यथार्थको पर्दा खोलिदियो। मानिसलाई जिउँदै जलाउने, घर–सम्पत्ति आगो लगाएर नष्ट गर्ने, सार्वजनिक तथा राष्ट्रिय धरोहरमाथि आगजनी गर्ने जस्ता अमानवीय कार्य कुनै पनि बहाना, विचार, आक्रोश वा उद्देश्यका नाममा क्षम्य हुन सक्दैनन्। त्यस्तो विनाश प्रकृतिको बाध्यता होइन—मानिसले आफ्नै विवेक गुमाएर रोजेको बाटो हो।

अर्कोतर्फ, विश्व नेतृत्वको दाबी गर्ने अमेरिका जस्तो शक्तिबाट मानव अधिकार, स्वतन्त्रता, सभ्यता र कानुनी शासनको पक्षमा विश्वलाई मार्गदर्शन गर्ने अपेक्षा गरिन्छ। तर त्यही शक्तिबाट विश्व व्यवस्थालाई अस्थिर बनाउने गरी हुने अनावश्यक युद्ध, शक्ति प्रदर्शन र अस्वस्थ व्यापारिक स्वार्थका गतिविधिले पनि उत्तिकै गम्भीर प्रश्न जन्माउँछन्। शक्तिशाली राष्ट्रबाट हुने विनाश पनि अन्ततः मानव जीवन र मानव सभ्यतामाथिकै प्रहार हो।

यसरी हेर्दा आजको विश्वमा प्राकृतिक र मानव निर्मित—दुवै प्रकारका विनाश निरन्तर भइरहेका छन्। तर यी दुईबीचको मूल अन्तर स्पष्ट छ—प्राकृतिक विनाश प्रकृतिको अपरिहार्य चक्र हो; मानव निर्मित विनाश भने विवेक, चेतना र जिम्मेवारी बिर्सेर मानिसले रोजेको गैरजिम्मेवार बाटो हो।

त्यसैले एउटा प्रश्न बारम्बार मनमा उठ्छ—प्रकृतिको विनाशभन्दा मानिसले मानिसमाथि गर्ने विनाश नै अझ घातक त होइन? भोटेकोशीको बाढी–पहिरो प्राकृतिक विपत्ति हो। तर त्यसको विनाशकारी प्रभावमा मानव गतिविधि, प्रकृतिमाथिको अतिक्रमण, अव्यवस्थित विकास, वातावरणीय दोहन वा कमजोर पूर्वतयारीको कुनै भूमिका छ कि छैन? यदि छ भने, त्यसलाई पनि गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने होइन र?
प्रकृतिले गर्ने विनाशलाई हामी नियति भनेर स्वीकार्न सक्छौँ। तर मानवले सिर्जना गर्ने विनाशलाई नियति भनेर पन्छाउन मिल्दैन। त्यहाँ प्रश्न हुन्छ—हाम्रो विवेक कहाँ थियो? हाम्रो जिम्मेवारी कहाँ थियो? अनि मानवतामाथिको हाम्रो विश्वास कहाँ हरायो? सायद गत भदौदेखि मेरो मनमा विचलनको मूल कारण यही हो—प्रकृतिको स्वाभाविक विनाश देखेर होइन, मानिसभित्रको अस्वाभाविक विनाश देखेर।
अन्त्यमा, भोटेकोशीको विनाशकारी बाढी–पहिरोमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त आफन्तजन तथा पीडित परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु। प्रकृतिको विपत्तिबाट पीडित सबैप्रति राज्य, समाज र हामी सबैको संवेदना, सहयोग र जिम्मेवारी अझ गहिरो बनोस्।