वेबसाइट सञ्चालनमा व्यापक रूपमा प्रयोग हुने प्रविधि PHP मा हालै गम्भीर सुरक्षा कमजोरीहरू सार्वजनिक भएका छन्। यस सम्बन्धमा समस्याको पृष्ठभूमि, आवश्यक सुरक्षा अपडेट तथा तपाईंले अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउन चाहन्छु।
समस्या के थियो?
PHP को आन्तरिक मेमोरी व्यवस्थापन तथा त्रुटि सम्हाल्ने प्रक्रियामा दुई गम्भीर कमजोरी पहिचान भएका थिए। यिनलाई CVE-2026-109618 र CVE-2026-109619 नाम दिइएको छ।
सरल भाषामा भन्नुपर्दा, केही विशेष अवस्थामा वेबसाइटको अनुरोध प्रशोधन गर्दा मेमोरी अपुग हुने वा प्रक्रिया अचानक रोकिने समस्यापछि PHP ले अधुरो वा प्रयोग समाप्त भइसकेको मेमोरीलाई पुनः प्रयोग गर्न सक्थ्यो। यसको दुरुपयोग गरेर आक्रमणकारीले लगइन नगरीकन पनि प्रभावित सर्भरमा अनधिकृत कोड चलाउन सक्ने जोखिम थियो। यो कमजोरी PHP कै मूल प्रणालीमा भएकाले वेबसाइटको आफ्नै कोड सुरक्षित भए पनि प्रभावित PHP संस्करण प्रयोग गर्दा जोखिम रहन सक्थ्यो।
यो कमजोरी कसरी पत्ता लाग्यो?
सुरक्षा अनुसन्धानकर्ताहरूले PHP को स्रोत कोड विश्लेषण, परीक्षण तथा कृत्रिम बुद्धिमत्ता (AI) को सहयोगबाट यी कमजोरीहरूको पहिचान र दुरुपयोग सम्भव भएको पुष्टि गरेका थिए।
Wiz Research का अनुसार, उनीहरूले अगस्ट २०२६ मा कमजोरी पत्ता लगाई परीक्षणमार्फत यसको प्रभाव पुष्टि गरेपछि PHP सुरक्षा टोलीलाई जानकारी दिएका थिए। अनुसन्धान तथा समाधानको समन्वयमा Wiz, Calif, OpenAI र PHP टोलीको सहभागिता थियो। त्यसपछि PHP टोलीले २१ अक्टोबर २०२६ मा सुरक्षा सुधारसहितका संस्करणहरू सार्वजनिक गरेको थियो।
हामीले के गरेका छौँ?
सुरक्षित होस्टिङ वातावरण कायम राख्ने हाम्रो निरन्तर प्रयासअन्तर्गत, हाम्रा सर्भरहरूमा रहेका प्रभावित PHP संस्करणहरूमा आवश्यक सुरक्षा प्याचहरू सफलतापूर्वक लागू गरिएको जानकारी गराउँदछौँ।
तपाईंले के गर्नुपर्छ?
सर्भरको सुरक्षा अपडेटसँगै वेबसाइटमा प्रयोग भएका सफ्टवेयर र खाताहरूको सुरक्षा कायम राख्नु पनि आवश्यक छ। त्यसैले निम्न सावधानी अपनाउनुहुन अनुरोध गर्दछौँ:
१. वेबसाइटका सफ्टवेयर अपडेट गर्नुहोस्: WordPress, Joomla वा Drupal जस्ता CMS तथा सबै थिम, प्लगइन र एक्सटेन्सनहरूलाई सुरक्षा सुधार समावेश भएका नवीनतम स्थिर संस्करणमा अपडेट गर्नुहोस्।
२. प्रयोगमा नरहेका कम्पोनेन्ट हटाउनुहोस्: आवश्यक नभएका थिम, प्लगइन तथा एक्सटेन्सनहरू अनइन्स्टल गर्नुहोस्। पुराना वा नियमित अपडेट हुन छाडेका कम्पोनेन्टले सुरक्षा जोखिम बढाउन सक्छन्।
३. शंकास्पद गतिविधि जाँच गर्नुहोस्: वेबसाइटमा अपरिचित प्रशासक खाता, शंकास्पद फाइल वा असामान्य गतिविधि भए–नभएको जाँच गर्नुहोस्।
४. नियमित ब्याकअप राख्नुहोस्: आवश्यक पर्दा पुनःस्थापना गर्न सकिने गरी वेबसाइटका फाइल तथा डाटाबेसको अद्यावधिक ब्याकअप सुरक्षित राख्नुहोस्।
५. बलिया पासवर्ड प्रयोग गर्नुहोस्: होस्टिङ कन्ट्रोल प्यानल, FTP/SFTP, CMS प्रशासक तथा डाटाबेस खाताहरूमा बलिया र प्रत्येक खाताका लागि फरक पासवर्ड प्रयोग गर्नुहोस्। उपलब्ध भएसम्म बहु-चरणीय प्रमाणीकरण (MFA) सक्रिय गर्नुहोस्।
सर्भरमा आवश्यक PHP सुरक्षा प्याच लागू गर्नु र वेबसाइटका एप्लिकेसन तथा कम्पोनेन्टहरू नियमित अपडेट गर्नु दुवै समग्र सुरक्षाका लागि महत्त्वपूर्ण छन्।